Monday, September 28, 2009

दोलखाको खड्ग जात्रा

दोलखा भीमेश्वर नगरपालिका- २, ३ र ४ को ऐतिहासिक शहर दोलखामा परम्परागतरूपमा प्रत्येक वर्ष 'खड्ग जात्रा' मनाइन्छ । उक्त जात्रा सांस्कृतिक परम्परानुसार विजयादशमीको भोलिपल्ट बिहानदेखि बेलुकासम्म गरिन्छ । सेतो दौरा, जामा र सेतै फेटा गुथेको पहिरनमा जमराको माला लगाई स्थानीय कुसुले बाजागाजाका साथ साना-साना बालकदेखि निकै वृद्ध उमेरकाले तलमाथि खड्ग नचाउँदै नाच्ने परम्परा छ । यस जात्राको शुरूवातका विषयमा निकै रमाइला किम्बदन्ति छन् । किम्बदन्तिका अनुसार दानवहरूले देवदेवी तथा मानिसलाई धेरै दुःख दिन थालेपछि दानवराज महिषासुरलाई कसरी बध गर्ने भन्ने विषयमा देव-देवीहरूको गोप्य बैठक बस्यो । बैठक महिषासुरसँग युद्ध गर्ने निर्णयमा पुग्यो र साइत जुराई युद्धको आरम्भ भयो । युद्ध आरम्भको अघिल्लो दिन देव-दवीहरू विभिन्न बाजागाजाका साथ पूजाका सामग्री लिएर युद्ध- निमन्त्रणाका साथै सहायताका लागि कालिञ्चोक भगवती पुगी आश्वासन प्राप्त गरे । आश्वासन पाएर फर्केपछि देव-देवीले दोलखा शहरको 'राइती' भन्ने ठाउँको तीनधाराअगाडि यज्ञ शुरू गरे । यज्ञ भइरहेको उक्त स्थानमा दानवहरू पुगे र यज्ञमण्डललाई कुल्ची ध्वस्त पारे । यसरी देवता र दानव युद्ध आरम्भ भएको मानिन्छ । उक्त युद्धको अन्तिम दिन तथा विजयादशमीका दिन दानवराज महिषासुरको शीरछेदन गरी देव-देवीले विजय प्राप्त गरेको खुशियाली तथा यसको सम्झनाका लागि खड्ग जात्रा मनाइने प्रचलन शुरू भएको बताइन्छ । यो जात्रा मनाउनका लागि दोलखा शहरको राजकुलेश्वर स्थानबाट केही तल रहेको चक्र डबलीमा नवमीका दिन पुजारीहरूद्वारा चक्रेश्वर बलिराजाको भातको मूर्ति बनाई स्थापना गरी स्थानीय कुसुलेहरूबाट विधिपूर्वक राँगोको बली दिइन्छ । जात्रा मनाउन कालरात्रीका दिन दोलखाको प्रसिद्ध भीमेश्वरमा चार वटा राँगोको बली पूजा दिइन्छ । ती चारमध्ये एउटाको घाँटीको मासु ताछी वा नछिनाइ भीमेश्वर मन्दिरबाट तल त्रिपुरासुन्दरीसम्म पुर्‍याउने चलन छ । घाँटी नछिनाइकन त्यहाँसम्म पुर्‍याउने चलन दानवराज महिषासुरलाई निकै ठूलो यातना दिई मारेको प्रतीक हो भन्ने भनाई बुढापाकाको छ । भीमेश्वरमा राँगा बली दिनुको अर्थ महिषासुर गणको बध गरेको मानिन्छ भने उक्त कार्यलाई दोलखामा बोलिने नेवारी भाषाअनुसार 'हामिल्ठी- तिमिल्ठो' भनिन्छ । टीकाका दिन साइतपारी युद्धमा जानुपर्ने तर त्यसदिन टीका थाप्ने कार्यमा अलमल गर्नुपर्ने भएकाले बेलुका बाजागाजाका साथ युद्ध अभिनय गर्दै महिषासुरको नाममा कुभिण्डो काटिन्छ र एकादशीको दिन बिहानदेखि नै पुनः युद्ध-संग्राम थालिन्छ । युद्ध नाचमा सामेल हुनेमा मूल खड् गधारी र उनका अंगरक्षक, दुईजना युद्धका निमित्त बोलाइएका चेलिबेटीका तर्फबाट तीन जना, मन्त्री तथा सेनापति हुने याकरगठा वंशज र उनका साथ भीम बली बोक्नेसमेत छन् । याकरगठा सेनापतिले उनीहरूलाई खड् ग थमाई युद्धमा प्रस्थान गर्न संकेत गरेपछि बाजागाजासहित राजकुलेश्वर मन्दिरबाट युद्ध अभिनयको नाच शुरू गरिन्छ । चक्रमण्डप नकछे टोलको बौद्ध चैत्य र कोर्छे टोलमा घमासान युद्धले भरिएको नाँच प्रदर्शन गर्दै युद्धका निमित्त गुर्कोट टोल र टसिचा टोलमा पुगीन्छ । युद्धमा थाकेको अनुभव भएपछि आफ्नो दलबलसहित सेनापति पिंगल टोलको बालकुमारीसमक्ष सहायता माग्न जान्छन् र बालकुमारीबाट सहायता पाएपछि युद्धकारीहरू भीमसेन डोबर डबलीमा पुग्छन् र पुनः युद्ध दोहोर्‍याउँछन् । त्यहाँ चार जना दानव सेनाहरू फेला पर्छन र ती चार सेनाको प्रतीकस्वरूप चारवटा राँगोलाई सबै मिलेर खड्ग प्रहारद्वारा मारिन्छ । यो चलन अद्यावधि छँदैछ । विजय प्राप्त गर्दै अघि बढिरहेका सेनाहरू काली मन्दिर हुँदै त्रिपुरासुन्दरी पुगी सहायता माग्छन् । त्रिपुरासुन्दरी भगवतीले आफ्ना नाबालक छोरा बटुक भैरवलाई युद्ध गर्ने तरिका सिकाएपछि घण्ट, डमरू, खड्ग चारहातमा थमाई दिएर राँगोको आन्द्राको माला लगाइदिन्छन् भन्ने पनि किम्बदन्ति छ । त्यसपश्चात् बटुक भैरव सहितका सेना दुंगल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेवस्थान, राजकुलेश्वरस्थान हुँदै अग्लो मण्डपमा चढ्दै चक्रराज बलीराजाको मूर्ति स्थापना गरेको ठाउँमा पुग्छन् । भीमसेनस्थान र त्रिपुरासुन्दरीमा बली दिइएको राँगाको टाउको यहाँ राखिन्छ र उक्त टाउकोलाई राजकुलेश्वर भगवतीले र त्यसपछि बटुक भैरवले खड्ग प्रहार गर्छन् । पछि अरू सेनाले खड्ग प्रहार गरी शिरछेदन गर्छन् । शिरछेदनपछि सगुनबाजा बजाउँदै खुशीलायी मनाउने प्रचलनअनुरूप दिनभरी खड्ग जात्रा मनाउनुका साथै बेलुकीपख त्रिपुरासुन्दरी र राजकुलेश्वरका पुजारीले मन्दिरअगाडि बसी टीका लगाइदिने प्रचलन अझै छ ।
Sources: Some buletins published in Dolakha (KYC and Others).

2 comments:

  1. Thanks for sharing an informative article. found it interesting.

    ReplyDelete
  2. thanks for information

    ReplyDelete