Monday, August 31, 2009

खोजी पुरानो नेवार बस्तीको

संस्कृतिकर्मी शान्तकृष्ण श्रेष्ठ हिजोआज पुरातत्व विभाग धाइरहेका छन्, नेवारहरूको इतिहास खोतल्न। नेवारहरूको सबभन्दा पुरानो बस्ती दोलखा भएको र उनीहरू त्यहीँबाट काठमाडौं प्रवेश गरेको दाबी गर्दै उनी विगतमा लेखिएको इतिहास सच्याउने अभियानमा जुटेका हुन्। इतिहासविद्हरूले भने नेवार समुदाय काठमाडौं उपत्यकाबाट बाहिरी जिल्लामा फिँजिएको बताउँदै आएका छन्।
श्रेष्ठ अध्यक्ष रहेको भिमेश्वर सामुदायिक विकास संस्थाले दोलखाको गहन अनुसन्धान माग गर्दै संस्कृति मन्त्रालय र पुरातत्व विभागमा छुट्टाछुट्टै निवेदन दिएको छ। यसै आधारमा मन्त्रालयले दोलखाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटन क्षेत्र विकास गर्ने कार्ययोजना पारित गरिसकेको छ। विभागले पनि विकास कार्यक्रम स्वीकृतिका लागि राष्ट्रिय योजना आयोग पठाएको छ।
विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामाका अनुसार आयोगबाट कार्यक्रम स्वीकृत हुनासाथ मध्यस्थकर्ता नियुक्त गरेर दोलखाको गहिरो प्रामाणिक अनुसन्धान सुरु गरिनेछ। 'त्यो अनुसन्धानबाट प्राप्त प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्छौं,' उनले भने।दोलखा बजार (भिमेश्वर नगरपालिकाको वडा नं २, ३ र ४) को अध्ययन अपुरो भएको बताउँदै श्रेष्ठले २०५७ सालदेखि गहन अनुसन्धानको माग गर्दै आएका हुन्।
इतिहासशिरोमणि बाबुराम आचार्यले दोलखाको इतिहास पूर्ण नभएसम्म नेपालको इतिहास पूरा हुँदैन भनेका छन्। विगतमा अध्ययन गर्ने इतिहासकारहरू मोहन खनाल, धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठले पनि दोलखाको थप अध्ययन आवश्यक भएको बताएका थिए।काठमाडौंभन्दा दोलखा पुरानो नेवार बस्ती हो भन्ने केही आधार छन्, श्रेष्ठसँग। नेपालमा पहिलो सिक्का निष्कासन दोलखाका राजा जयइन्द्रसिंह देवले गरेका हुन्। विक्रम संवत १५९१ देखि १६०५ सम्म दोलखाको राजगद्दी सम्हालेका जयइन्द्रसिंहले कान्तिपुरका राजा महिन्द्र मल्लले भन्दा झण्डै १५ वर्षअघि चाँदीको मोहर चलाएको प्रमाणित भइसकेको छ। खनाल, बज्राचार्य र श्रेष्ठको अध्ययनले पनि यही देखाउँछ। तर, महिन्द्र मल्लले पहिलोपटक सिक्का निष्कासन गरेको भ्रम फिँजाइएको छ। सामान्य ज्ञानहरूमा पनि यही लेखिएको छ।
सन् १९८९ मा लन्डनबाट प्रकाशित 'क्वाइन्स अफ नेपाल' पुस्तकमा दोलखा राज्यको सिक्कालाई हिन्दुहरूको पहिलो सिक्का मानिएको छ। चाँदीको मोहरमा एकापट्टी जयइन्द्रसिंह देव र अर्कापट्टी उनकी महारानी विजयालक्ष्मीको नाम लेखिएको छ। काठमाडौंको राष्ट्रिय संग्रहालयमा एउटामात्रै मोहर सुरक्षित छ। श्रेष्ठ भन्छन्, 'काठमाडौं उपत्यकाका राज्यहरूभन्दा दोलखा विकसित र पुरानो भएकाले त्यहाँ पहिले सिक्का निष्कासन भयो।' इतिहासअनुसार विसं १६०५ मा राजा जयइन्द्रसिंहको निधन भयो। त्यसपछि १६५५ मा कान्तिपुरका राजा शिविसिंहले दोलखाका राजा भीष्मदेवलाई परास्त गरे। त्यो बेलादेखि दोलखा कान्तिपुरको अधिनमा आयो।
राजा महिन्द्र मल्लले सिक्का निष्कासन गरेपछि दोलखाको इतिहास मेटाएको आरोप लगाउँछन्, श्रेष्ठ। हिमाली अधिराज्यका मुद्रा विशेषज्ञ मानिएका बेलायती नागरिक निकोलस रोड्सले एक ठाउँमा महिन्द्र मल्लले जयइन्द्रसिंहले निकालेका मोहर गालेको लेखेका छन्। दोलखा भाषाको लिपि पनि यसैगरी मेटाइएको श्रेष्ठको आशंका छ।

इष्ट देवता

भिमसेन नेवार समुदायका इष्टदेवता हुन्। दोलखा बजारमा भिमेश्वर मन्दिर छ। श्रेष्ठका अनुसार त्यतिखेर काठमाडौंबासीले दोलखाको नक्कल गरेर भिमसेन मूर्ति यहाँ स्थापना गरेका हुन्। उनको प्रश्न छ, 'काठमाडौंभन्दा पुरानो बस्ती नभएको भए कसरी दोलखाबाट भिमसेन यता ल्याइन्थ्यो ?'
इष्टदेवताका विषयमा संस्कृतिविद् सत्यमोहन जोशीको विचार पनि केही हदसम्म मेल खान्छ। काठमाडौंका मुख्यमुख्य मन्दिरमा रहेका भिमसेन दोलखाबाटै ल्याइएको उनी स्वीकार गर्छन्।
यसमा श्रेष्ठको तर्क भने यस्तो छ, 'भिमसेनको मूर्ति सारिएको होइन, उस्तै बनाइएको हो। सारिएको भए त अहिले दोलखामा भिमेश्वरमा मन्दिर अस्तित्वमा रहने नै थिएन।'

भाषा

भाषाको हिसाबले पनि दोलखा महत्त्वपूर्ण छ। दोलखा भाषा मौलिक नेवार भाषा भएको उनी दाबी गर्छन्।
संस्कृतिविद् जोशी पनि शुद्धताका हिसाबले काठमाडौंको भन्दा दोलखाको नेवार भाषा शुद्ध भएको स्वीकार गर्छन्। 'दोलखाको भाषा हाम्रै हो, यसको संरक्षण गर्नुपर्छ,' नेपाल भाषा एकेडेमीका कुलपतिसमेत रहेका जोशी भन्छन्, 'तर यसलाई सबैतिर चलाउँछु भन्नु व्यावहारिक हुँदैन। कुन पुरानो हो भन्ने विषयमा अनुसन्धान हुनुपर्छ।'
अध्येताहरूका अनुसार काठमाडौंमा प्रचलित नेवार भाषाका सात रूप छन् भने दोलखा भाषामा ३१ वटा। दोलखा भाषाको स्वरलहर पनि फरक छ। यसको लिपि छैन। परापूर्वकालमा दोलखाबाट नेवारसँगै दोलखा भाषा पनि काठमाडौं प्रवेश गरेको र फरक ठाउँमा भाषा सरलीकृत भएको श्रेष्ठ ठोकुवा गर्छन्।

संस्कृति

दोलखामा ३ सय ६५ दिन ४ सयभन्दा बढी सांस्कृतिक पर्व मनाइने गरेको श्रेष्ठ बताउँछन्। कहिलेकाहीँ त दिनमै दुई-तीनवटा पर्व पर्छ। तीमध्ये अहिले केही लोप भइसकेका छन्।
दोलखामा मच्छिन्द्रनाथको जात्रा निकालिन्छ। त्यहाँको तुलनामा काठमाडौंको भूमि समथर छ। रथ तान्न सजिलो हुन्छ। तर पहाडी बस्ती भएकाले रथ यात्रा गर्न गाह्रो हुँदाहुँदै पनि दोलखामा सदियौंदेखि यो जात्रा चलिरहेको छ। श्रेष्ठ भन्छन्, 'मच्छिद्रनाथको मात्रै होइन, अरू जात्रा पनि दोलखाबाट काठमाडौं लगिएका हुन्। काठमाडौंबाट ल्याएको भए त यस्तो अप्ठ्यारो भूबनोटमा किन जात्रा चलाउँथे होला र ?'
दोलखामा भैरवकुमारी नाच ५ रात देखाइन्छ। यो जात्रा काठमाडौंमा पाइन्न। भैरवकुमारी नाचका नायक नेवार समुदायको शिवभक्ति जातिका हुन्छन्। उनीहरूको बसोबास दोलखामा मात्रै छ। 'यसले पनि काठमाडौंभन्दा दोलखा पुरानो बस्ती भएको पुष्टि गर्छ,' श्रेष्ठ भन्छन्।पश्चिम नेपालका नेवार आफूहरू काठमाडौं उपत्यकाबाट आएको बताउँछन्। ज्यापुहरू आफूलाई काठमाडौंको आदिवासी मान्छन्। उनीहरू भोटबाट नेपाल आएको स्वीकार गर्छन्। तर, सुरुमा उनीहरू कताबाट काठमाडौं प्रवेश गरे ? यो प्रश्नको उत्तर खोज्न दोलखाको गहिरो र प्रामाणिक अध्ययन गरिनुपर्ने देखेका छन्, श्रेष्ठले।
अन्य इतिहासविद्हरूको मत भने उनीसँग बाझिन्छ।
त्रिरत्न मानन्धर दोलखालाई नेवारहरूको पुरानो बस्ती मान्दैनन्। 'दोलखाको नेवार बस्ती सबभन्दा पुरानो हो भन्ने कुनै प्रमाण फेला परेको छैन,' उनले भने। उनका अनुसार काठमाडौंमा इस्वी संवत १० र ११ औं शताब्दीको नेपाल भाषाको लिपि र प्रमाण भेटिएको छ। 'त्यतिबेला दोलखा राज्य अस्तित्वमै आएको देखिँदैन,' उनी भन्छन्, 'तर, पुरानो बस्ती हो कि होइन भन्ने निक्र्योल गर्न दोलखाको समाजशास्त्रीय र भाषिक अनुसन्धान हुनु जरुरी छ।'
श्रेष्ठको आफ्नै तर्क छ। इतिहासअनुसार लिच्छिवीकालअघि किराँतकाल थियो। दोलखा राज्य किराँतकालमै अस्तित्वमा रहेको आधार पाइन्छन्। दोलखामा किराँती छाप भन्ने ठाउँसमेत छ। दोलखा बजारको ठूलो स्वयम्भु स्तुपको पेटीसागै किराँती राज्यको सिमास्तम्भ छ। यहाँ केही वर्ष अघिसम्म पूर्वका किराँतहरू पूजा गर्न आउँथे। त्यस्तै किराँतकालीन धारो 'राइती' पनि छ। श्रेष्ठ तर्क गर्छन्, 'नेवारमात्र होइन, अन्य सभ्यता पनि दोलखाबाट सुरु भएको हुन सक्छ।'
त्यही भएर स्थानीय समुदाय दोलखालाई नेवार धामका रूपमा स्थापित गरी धार्मिक पर्यटनको केन्द्र बनाउन कस्सिएको छ। 'यसका लागि दोलखाली र राज्यले पहल गर्नुपर्छ,' श्रेष्ठ भन्छन्, 'पहिले दोलखाको इतिहास लेखिनुपर्‍यो।'

दोलखा बजार

काठमाडौंदेखि दोलखा बजारसम्म सडक यातायातको दुरी १ सय ३४ किलोमिटर छ। बजारमा करिब ५ हजार मानिस बस्छन्। नेवार, थामी, तामाङ र दमाइ बढी छन्। बजार प्रवेश गर्ने ठाउँमा भर्खरै राजा जयइन्द्रसिंह देवमा समर्पित ढोका निर्माण गरिएको छ।
मन्दिर र बिहारमात्रै होइन, कलात्मक आँखीझ्याल भएका घर र दरबार पनि छन् यहाँ। कतिपय कलात्मक घर र दरबार जिर्ण भइसकेका छन्। बहाल टोलको रानी दरबारको पनि बिजोगै छ। पुरानो दरबार भत्किएको ठाउँमा राजकुलेश्वर निम्न माध्यमिक विद्यालय ठडिएको छ। टक्सार भवन जिर्णोद्धार गरी संग्रहालय बनाउने अभियानमा जुटेको छ, द्वाल्खा गुठी । यसबाहेक कुमारी घर, त्रिपुरा सुन्दरी, तलेजु भवानी, महादेव आदिका मन्दिर र ९ वटा चैत्य छन्। यति सानो बस्तीमा मठ, मन्दिर, पोखरीलगायत एक सय १४ वटा सांस्कृतिक सम्पदा छन्। 'यसले पनि दोलखाको ऐतिहासिकता पुष्टि गर्छ,' श्रेष्ठ भन्छन्।
भिमेश्वर मन्दिरमा धार्मिक पर्यटकको घुइँचो लाग्छ। संस्कृतिकर्मी शान्तकृष्ण श्रेष्ठका अनुसार भिमेश्वरको दर्शनबिना पशुपतिनाथको दर्शन अपुरो मानिन्छ। जनकपुरको रामजानकी मन्दिर र भिमेश्वरलाई एकिकृत गरी गुरुयोजना तर्जुमा गर्नुपर्ने मागका साथ संस्कृतिमन्त्रीलाई पनि भेटिसकेको उनले बताए। सरकारले 'भीमेश्वर जनकपुर बृहत्तर क्षेत्र विकास योजना' लागू गरे हिमाली, पहाडी र तराईबासीबीच सहिष्णुताको नाता अझ गाढा हुने उनको भनाइ छ।

दोलखा भाषा

दोलखा भाषाको लिपि छैन। काठमाडौं र दोलखाका नेवारले प्रयोग गर्ने भाषाको फरक बुझ्न केही शब्द हेरौं। पानीलाई दोलखाली 'लोखु' भन्छन् भने काठमाडौंकाले 'ल'। किताबलाई दोलखालीले 'साँफर' भन्छन् भने काठमाडौंमा 'सफु' भनिन्छ। दोलखाली अर्धांगिनीलाई 'कलात' भन्छन् भने काठमाडौंमा 'कला'। दोलखालीले राम्रोलाई 'बाँलकु' भन्छन् भने काठमाडौंमा 'बाँला' भनिन्छ। त्यस्तै मिठोलाई 'साकु' भनिन्छ भने काठमाडौंमा 'सा' मात्रै भन्छन्। डराउनेलाई दोलखालीले 'ग्याफर' भन्छन् भने काठमाडौंका नेवार 'ग्याफ' भन्छन्।२०५२ मा तत्कालीन दोलखा गाविस अध्यक्ष रविभक्त श्रेष्ठ, वकिल प्रविण प्रधान, शिक्षक भरत श्रेष्ठ, तीर्थनारायण जोशी र शान्तकृष्ण श्रेष्ठलगायत मिलेर 'कुल्सी परिवार गठन' गरिएको थियो। यसले 'कुल्सी हवाई पत्रिका प्रकाशन गथ्र्यो, जसका सम्पादक तीर्थनारायण जोशी थिए। चार वर्ष प्रकाशन भएको पत्रिकाले दोलखा भाषाको संरक्षण र प्रचारमा सहयोग पुर्‍याएको थियो। आफ्नै लिपि नभएकाले देवनागरी लिपिमै त्यो पत्रिका छापिन्थ्यो।
केही समयपछि यही उद्देश्यले 'बाँपीझ्याला' पत्रिका पनि प्रकाशन हुन थाल्यो। कालान्तरमा दुवै पत्रिकाले विश्राम लिए। केही समयपछि 'अभयपुर' मासिक पत्रिका दोलखा भाषा र राष्ट्रिय भाषामा प्रकाशन भयो। यसअघि पनि कालिञ्चोक युथ क्लबको आँखा, द्वाल्खा गुठीको स्मारिका, तिलिञ्चो परिवारको 'चिमाल' प्रकाशन भएका थिए। आँखा पत्रिका अझै प्रकाशन भइरहेको छ।

काठमाडौंमा नेवार

त्रिरत्न मानन्धर, इतिहासविद्
नेवार जाति होइन, समुदाय हो। यो समुदायभित्र थरिथरिका जाति छन्। उनीहरू काठमाडौंमा कहिले आए भन्ने ऐतिहासिक प्रमाण भेटिएको छैन। वंशावलीलाई आधार मान्दा नेपालको पहिलो राजवंश गोपालवंश (३८ सय वर्ष पहिलेको) हो। अहिले पनि चित्लाङ, कीर्तिपुर, मत्स्य गाउँ, बज्रबाराही र मातातिर्थमा गोपाली जातिको बस्ती छ। नेवार समुदायभित्रका उनीहरू आफूलाई गोपालवंशको मान्छन्। नेपाल भाषामा उनीहरूलाई 'सापु' भनिन्छ। 'सा' को अर्थ गाई हो भने 'पु' को अर्थ पाल्ने। त्यसैले, गोपालवंशलाई पहिलो नेवार समुदाय मान्न सकिन्छ।
गोपालवंशको राज्यकाल करिब ५ सय वर्ष मानिएको छ। त्यसपछि डेढ सय वर्ष महिषपालको राज्य चल्यो। उनीहरूपछि किराँतहरूले अन्दाजी १२ सय वर्ष शासन गरे। इसाको पहिलो शताब्दीदेखि ९ औं शताब्दीसम्म लिच्छिवी शासन चल्यो। लिच्छवीपछि मध्यकाल सुरु भयो। त्यो समयमा देव नामधारी राजाले शासन गरेको भनिन्छ। तर, उनीहरूको वंश निश्चित गर्न सकिएको छैन। इसाको १३ औं शताब्दीमा आएर मल्लकाल सुरु भयो।
इतिहासशिरोमणि बाबुराम आचार्यले लिच्छिवीहरूलाई ज्यापु मानेका छन्। प्रामाणिक तथ्य भनेको इस्वी संवतको दसौं शताब्दीको नेवारी लिपि भेटिएको छ भने भाषाको अभिलेख ११ औं शताब्दीदेखिको पाइएको छ। त्यतिबेला नेवार प्रबुद्ध समुदायका रूपमा स्थापित भैसकेको देखिन्छ। त्यसअघिका नेवारसम्बन्धी अभिलेख पाइएको छैन।
मल्लकालमा नेवारी भाषालाई नेपाल भाषा भनिन्थ्यो। त्यसले सरकारी मान्यता पाएको थियो। यसलाई देश भाषा वा राष्ट्रभाषा पनि भनिन्थ्यो। चौधौं शताब्दीका राजा जयस्थिति मल्लले पेसाका आधारमा नेवार समुदायको वर्गीकरण गरे। त्यो बेलाको नेपालमण्डलमा अहिलेका १२ जिल्लाका भूभाग पर्छन्- काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, सिन्धुली र रामेछाप।
नेवारहरू काठमाडौंबाट बाहिरी जिल्लामा गएका देखिन्छन्। मल्लकालमा नेपाल ५० भन्दा बढी राज्यमा विभक्त थियो। मल्लकालको बीच (१७ औं शताब्दी) तिरै काठमाडौंबाट नेवारहरू पश्चिम नेपालतिर बसाइ सरेको पाइन्छ। पहिले-पहिले व्यापारिक प्रयोजनका लागि उनीहरू काठमाडौंबाहिर पुगेका थिए भने पछि राजा रणबहादुर शाहले धेरैलाई काठमाडौं उपत्यकाबाट पूर्वतिर लखेटे।
रणबहादुरको शासनकालमा (इस्वी संवत १७९९ तिरको घटना) काठमाडौं उपत्यकामा बिफरको महामारी फैलियो। एकपटक बिफर आइसकेकालाई फेरि बिफर आउँदैन। नआएका बालबालिकालाई आउने सम्भावना रहन्छ। बिफर सरुवा रोग भएकाले आफ्नो मन परेको छोरो गिर्वाणयुद्ध बिक्रमलाई बिफरले सताउला भनेर राजा डराए। त्यही भएर उनले बिफर नआएका सबै बालबालिकालाई काठमाडौं उपत्यका छोडेर तामाकोसीपारि जान उर्दी जारी गरे। परिणामः आफ्ना छोराछोरीसहित रुँदै-कराउँदै धेरै नेवारहरूले उपत्यका छोड्नुपर्‍यो।

साभार : अमृत भादगाउँले , http://www.nagariknews.com

2 comments:

  1. रोचक ऐतिहासिक जानकारीहरु पढ्न पाऊँदा खुशी लाग्यो। धन्यबाद! दोलखाको बारेमा गहन अनुसन्धान हुन सकोस् भन्ने कामना!

    ReplyDelete